कुनै समय टमाटरको मूल्य आकासिएर थेग्नै नसक्ने अवस्थामा पुगेको थियो। अझै छिमेकी मुलुक भारतमा टमाटरको मूल्य अचाक्ली बढेपछि बहुराष्ट्रिय चेन रेष्टुरेन्टहरुले बर्गरमा टमाटर नै नहाल्ने भनेर सूचना नै जारी गरेका थिए। त्यसको असर नेपालमा समेत परेको थियो।
पछि त्यही टमाटरले मूल्य नपाएपछि नेपाली किसानले सडकमै टमाटर फाल्ने अवस्था समेत सिर्जना भयो। अहिले भारतमा दैनिक प्याजको मूल्य बढ्न थालेको छ। भारतीय तरकारी बजारमा गएको १५ दिनमा प्याजको मूल्य ६० प्रतिशतले बढेको छ। गत हप्ता मात्रै प्याजको मूल्य १८ प्रतिशतले बढेको थियो। अहिले भारतीय बजारमा प्रति किलो प्याजको मूल्य कम्तीमा पनि भारतीय ५० देखि ७० रुपैयाँसम्म पुगेको छ। त्यसको सोझो असर नेपाली भान्सामा पर्न थालेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत असोजमा भारतीय प्याजको औसत मूल्य ७१ रुपैयाँ २० पैसा रहेको थियो भने अहिले कात्तिकमा आएर प्रति किलो प्याजको औसत मूल्य नै १०२ रुपैयाँ ५० पैसा पुगेको छ। आजको न्यूनतम मूल्य नै एक सय रुपैयाँ र अधिकतम मूल्य १०५ रुपैयाँ तय भएको छ। जति जति भारतीय बजारमा प्याजको मूल्य बढ्दै गइरहेको छ। त्यति नै नेपाली बजारमा समेत मूल्य बढ्दै गइरहेको छ। आउने केही दिन अझै मूल्य माथि नै रहन सक्ने अनुमान भारतीय सञ्चार माध्यमले गरेका छन्। जसको असर नेपाली भान्सामा समेत पर्ने पक्का पक्की छ।