२०८२ माघ ८ गते मङ्गलवार

भारतको हिमाचल प्रदेशमा ग्यास सिलिन्डर बिस्फोट हुँदा सिद्ध कुमाख गाउँपालिका वडा नं २ का दुइ परिवारका ९ जनाको मृत्यु

सल्यान । भारतको हिमाचल प्रदेशस्थित अर्की क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुने सबै सल्यान जिल्लाको सिद्धकुमाख गाउँपालिका–२ टाकुराका दुई परिवारका सदस्य रहेको पारिवारिक स्रोतले जनाएको छ । सोमबार बिहान करिब २ बजेको समयमा उनीहरू सुतिरहेको कोठामा राखिएको ग्यास सिलिन्डर अचानक विस्फोट हुँदा घटना भएको हो । विस्फोटपछि आगलागी समेत भएको वरपरका घरहरु समेत जलेर ध्वस्त भएका छन । उनीहरूको घटनास्थलमै ज्यान गएको बताइएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरू ३३ वर्षीय धनबहादुर विक, उहाँकी ३१ वर्षीया श्रीमती कविता विक, १६ वर्षीया छोरी राधा विक, ११ वर्षीया छोरी रेणुका विक र २२ महिनाको छोरा राजन विक रहेका छन् । यसैगरी अर्को परिवारका ५४ वर्षीय काशीराम विक, उहाँकी २६ वर्षीया श्रीमती टीका विक, ९ वर्षीया छोरी अनु विक र ४ वर्षीय छोरा किरण विकको पनि मृत्यु भएको छ ।

एकै गाउँका ९ जनाको एकैपटक मृत्यु भएपछि सिद्ध कुमाख गाउँपालिका वडा नम्बर २ यतिबेला गहिरो शोकमा डुबेको छ । गाउँभरि शोकमा डुवेको छन भने आफन्त तथा छिमेकीहरू स्तब्ध बनेका छन् । घटनामा परी धन वहादुर विकको सवै परिवारको सदस्यहरुको मृत्यू भएको र मृतक काशिराम विकको ११ वर्षिया छोरा अभिसेश विक मात्र जिवित रहेको वडा नं २ का वडा सचिव कृष्ण बहादुर चलाउनेले जानकारी दिनुभएको छ । उनि सिद्ध कुमाख गाउँपालिका वडा नं २ मा रहेको सिद्ध माविमा कक्षा ४ मा पढीरहेका छन ।

वडा अध्यक्ष मेकराज बुढाथोकीका अनुसार घटनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मंगलबार वडा शोक सभा आयोजना गरिनेछ । साथै वडा कार्यालयसहित सम्बन्धित सरकारी कार्यालयहरूमा पनि शोक बिदा दिइने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । रोजगारी गरेर परिवार पाल्ने सपना बोकेर गएका गाउँका नागरिक यसरी अकालमै ज्यान गुमाउनु अत्यन्त दुःखद र पीडादायी घटना भएको उहाँको भनाई छ । 

सिद्ध कुमाख गाउँपालिकाले शोक वक्तव्य निकाल्दै दुःखको यस घडीमा समवेदना प्रकट गरेको छ । मृतकहरुको सव नेपालसम्म ल्याइ व्यवस्थापन गर्नको लागि पालिकाले सहयोग गर्ने गाउँपालिका अध्यक्ष भरत गिरीले प्रतिवद्धता जनाउनुभएको छ ।

प्रकाशित मिति : २०८२ माघ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस