२०८१ कार्तिक १७ गते शनिवार

सिद्ध कुमाख गाउँपालिकामा आधारभूत ब्युटीपार्लर तालिम सम्पन्न

“सीप सिकौँ, आत्मनिर्भर बनौँ” भन्ने मूल नाराका साथ उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको आयोजना र सिद्ध कुमाख गाउँपालिकाको समन्वयमा वडा नं ३ डाँडाकटेरीमा सञ्चालित आधारभूत ब्युटीपार्लर तालिम आज सम्पन्न भएको छ । उद्यमशिलता विकास तथा महिला आय-आर्जन मार्फत स्थानीय आर्थिक विकास कार्यक्रम अन्तर्गत गत चैत्र ४ गतेदेखि आज बैशाख १० गतेसम्म सञ्चालित भएको तालिममा १८ जना सहभागि रहेका थिए भने तालिमलाई किर्ती राइले सहजिकरण गर्नुभएको थियो । समापन कार्यक्रममा बोल्दै वडा नं ३ का वडाध्यक्ष जीवराज बोहराले तालिमबाट सिकेको ज्ञानलाई व्यवसायिक बनाउन आग्रह गर्नुभएको छ । व्यवसायिक रुपले ब्युटीपार्लर खोल्न चाहने उद्यमीलाई पालिकाले प्रविधि हस्तान्तरण र उच्चस्तरको तालिमको व्यवस्था गर्न प्रतिवद्ध रहेको गाउँपालिका अध्यक्ष भरत गिरीले बताउनुभयो । तालिमबाट सिकेर आफुमात्रै राम्रो हुनेमा सिमित नभई सफल उद्ममी बन्नुपर्ने र उत्कृष्ट उद्यमीलाई अनुदान प्रदान गरिने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्रीकृष्ण देवकोटाले जनाउनुभयो ।

प्रकाशित मिति : २०८१ बैशाख १० गते सोमवार
प्रतिक्रिया दिनुहोस