उद्योग वाणिज्य संघ सल्यानको आयोजनामा उद्योग तथा व्यापार मेला मिति २०८० पौष महिनामा लगाउने भनि कार्यसमितिको निर्यण भएपनि आम उद्योगी,ब्यापारी,व्यवसायीहरुको सल्लाह सुझाव अनुसार छिमेकी जिल्लाहरु जाजरकोट, रुकुम –पश्चिमका साथै सल्यानमा समेत भुकम्पको ठुलो असर परेको र दिन प्रतिदिन घट्दो ब्यापार÷व्यवसाय, मँहगो ब्याज दर आर्थिक मन्दी परेको असहज प्रस्थितीमा मेला महोत्सव लगाउँदा ठुलो आर्थिक धनराशी बाहिरिने भन्दै उद्योग वाणिज्य संघको मिति २०८० साल पुस १३ गतेको कार्यसमितिको बैठकको निर्णय बमोजिम उद्योग तथा ब्यापार मेला यस बर्ष नलगाउने निर्णय गरेेको थियोे ।
उता राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा सल्यानको आयोजना र नयाँसोच युवा क्लब शारदा नगरपालिका–६ सल्यानको सहआयोजनामा यही पुस २६ गतेदेखी माघ ७ गतेसम्म सल्यान महोत्सव सञ्चालन हुने निर्णय भएको हो ।
आइतवार श्रीनगरमा पत्रकार सम्मेलन गर्दै श्रीनगरको टाउन प्लानिङमा महोत्सव सञ्चालन हुने जानकारी दिइएको हो । सल्यानमा कलाघर निर्माणका लागि महोत्सवको आयोजना गरिएको मेला व्यवस्थापक एवम् राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा सल्यानका अध्यक्ष प्रेम नारायण विकले जानकारी दिनुभयो ।
यसका साथै लोपोन्मुख मौलिक कला संस्कृतिको प्रदर्शन गरि संरक्षण गर्ने, उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षि र पर्यटन क्षेत्रको प्रवद्र्धन गरिने उहाँले जानकारी दिनुभयो । महोत्सव अवधिभर ५० लाख बराबरको कारोवार हुने र ३० हजार दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको दावी छ । महोत्सवमा पुराना मौलिक लोक झाँकी प्रदर्शनी गरिने, स्थानिय तथा राष्ट्रिय कलाकारबाट सांस्कृतिक प्रस्तुति, स्थानिय अर्गानिक उत्पादनको प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।