
सल्यान— नेपालकै पश्चिमी क्षेत्रमा पहिलोपटक दुर्लभ वनस्पति रुख उन्यु (Alsophila spinulosa) फेला परेको छ। कर्णाली प्रदेश अन्तर्गत सल्यान जिल्लाको दार्मा गाउँपालिका–३ स्थित धुल्खर्क सामुदायिक वनमा यो प्राचीन वनस्पति पत्ता लागेको हो, जसले जैविक विविधताको दृष्टिले ठूलो उपलब्धि जनाएका विज्ञहरूले बताएका छन्।
स्थानीय कृषि प्राविधिक नेत्रलाल घर्तीले सामाजिक सञ्जाल फेसबुकमार्फत् उक्त वनस्पतिको तस्बिर सार्वजनिक गरेपछि विज्ञ तथा सरोकारवालाहरूको ध्यान आकृष्ट भएको थियो। त्यसपछि वातावरणविद् जीवन शर्मा, कर्णाली प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका वातावरण निरीक्षक केशव बस्याल, र प्राकृतिक स्रोत व्यवस्थापनका अध्येता टोपेन्द्र गिरीको टोली नागरिक वैज्ञानिक नेत्रलाल घर्तीलाई साथमा लिएर बैशाख ७ गते स्थलगत अध्ययनका लागि सो स्थानमा पुगेको थियो।
टोलीको अनुसन्धानपछि पत्ता लागेको सो वनस्पति Alsophila spinulosa प्रजातिको रुख उन्यु भएको वैज्ञानिक पुष्टि गरिएको हो। फर्न वर्गमा पर्ने यो प्रजाति अत्यन्तै दुर्लभ र संरक्षणयोग्य वनस्पति मानिन्छ।
यो प्रजाति नेपालमा खासगरी पूर्वी तथा मध्य भागमा देखिने भए तापनि, नेपालको सवै भन्दा पश्चिमी क्षेत्रमा भने यो पहिलोपटक फेला परेको हो, जसले पश्चिम नेपालको जैविक सम्भावनालाई नयाँ ढोका खोलिदिएको विज्ञहरूको भनाइ छ। यसरी दुर्लभ वनस्पति पत्ता लाग्नु कर्णाली प्रदेश र सम्पूर्ण पश्चिम नेपालका लागि एक महत्वपूर्ण प्राकृतिक सम्पदा मानिएको छ।
स्थानीय समुदायको सक्रियता, वैज्ञानिक अध्ययनको आवश्यकताको महसुस, र संरक्षण चेतना अभिवृद्धि यो खोजसँगै महत्वपूर्ण विषयका रूपमा उभिएका छन्। अध्ययन टोलीले यसको संरक्षण, दिगो व्यवस्थापन, र थप वैज्ञानिक अनुसन्धानका लागि सम्बन्धित निकायहरूसँग समन्वय गर्नुपर्ने सुझाव दिएको छ।
