२०८१ कार्तिक १७ गते शनिवार

सल्यानमा ‘मोहन सर व्यक्ति र स्मृति’ पुस्तक सार्वजनिक

सल्यान — शारदा नगरपालिका-३ थापागाउँका मोहनसिंह थापाको स्मृतिमा प्रकाशित ‘मोहन सर व्यक्ति र स्मृति’ नामक पुस्तक कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीको हातबाट सार्वजनिक भएको छ । तीन दशकसम्म शिक्षण पेसामा आबद्ध भएर गणित बिषयमा अध्यापन गराएका थापाको जीवनमा आधारित ४५ जना विद्यार्थीका आलेखहरू समेटिएको पुस्तक प्रकाशित भएको हो ।

२०२८ सालको एलएसलीमा जिल्ला प्रथम भएका निम्नवर्गीय परिवारका मोहन सर राजनीतिक पहुँच नहुँदा छात्रवृत्ति नपाएपछि आफ्नो पढाइलाइ अधुरै छोडेका मोहन सर आफ्नो शैक्षिक योग्यताभन्दा माथि सल्यान क्याम्पसमा स्नातक तहमा लामो समय पढाए । सर्टिफिकेट नभएको भन्दै सल्यानको पहिलो विद्यालय त्रिभुवन जन माविमा १८ वर्ष पढाए पनि उनी रित्तै हात बिदा भएका थिए । २०४९ मा सल्यानमा पहिलोपटक सल्यान क्याम्पस खुलेपछि उनले सर्टिफिकेट बिना नै  गणित र अर्थशास्त्र पढाए। गाउँगाउँबाट सदरमुकाम पढ्न आउनेलाई उनी निःशुल्क डेराबास दिन्थे। आजीवन अविवाहित मोहन सर सल्यानी जनता तथा हजारौँ शिष्यहरुका प्रिय छन्। पुस्तकलाई मोहन सरका विद्यार्थी प्रवीण भण्डारी र विमल आचार्यले स्वयंसेवी रुपमा सम्पादन संयोजन गरेका हुन् भने प्रकाशन खर्च मोहन सरका भाइ भूपेन्द्र र बहिनी सोबिताले व्यहोरेका थिए। पुस्तक सबैलाई निःशुल्क वितरण गरिएको छ।

प्रकाशित मिति : २०८१ असोज २० गते आइतवार
प्रतिक्रिया दिनुहोस