२०८१ मङ्सिर १९ गते बुधवार

एक दिनमा कति पानी पिउने जानी राख्नुहोस् (९ महत्वपुर्ण टिप्स)

सामान्य व्यक्तिले (पुरूष या महिला) दिनमा दुईदेखि तीन लिटर पानी पिउनुपर्ने हुन्छ। तर, यो एकैचोटि पिउनु हुँदैन।यसको लागि यही समय भन्ने पनि छैन। पिसाब पहेँलो हुनु हुँदैन। पिसाब पहेँलो छैन भने शरीरमा पानीको मात्रा कमी छैन भन्ने बुझ्न सकिन्छ। पानी कति कुन कुन समयमा पिउने केही महत्वपुर्ण टिप्स थाहा पाइराख्नुहोस ।

  • यदि तिर्खा लागिहाल्यो भने तिर्खा मेट्नुपर्छ। तर तिर्खा लाग्यो भन्दैनमा १/२ लिटर पानी खानु हुँदैन। धेरै पानी एकैचोटि पिउँदा वान्ता हुन सक्छ। पेट फुले जस्तो र शरीरलाई असहज हुन्छ।
  • मिलाएर दिनमा दुईदेखि तीन लिटर पानी पिउनुपर्छ। धेरै गर्मी छ शरीरमा पसिना आएको छ वा काम गरिएको छ भने मात्रा बढाउनुपर्ने पनि हुन्छ।
  • एकपटकमा एक गिलास पानी पिउनु राम्रो हुन्छ। बढीमा दुई गिलाससम्म पिउन सकिन्छ।
  • सामान्यतया सबैले बिहान उठ्नासाथ पानी खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। ग्यास्ट्रिकको समस्या हुनेलाई त अनिवार्य जस्तै हो। राति पानी पिउँदा केही बिग्रिँदैन। तर पिसाबको समस्या हुनेले नपिएको राम्रो हुन्छ।
  • खाना खाने समयमा पानी नखाएको राम्रो हुन्छ। शरीरको तौल घटाउन चाहनेहरूले भने खाना खानुभन्दा आधा घण्टा अगाडि एक-दुई गिलास पानी पिउँदा राम्रो हुन्छ। पानी खाएर खाना खाने हो भने खाना थोरै रूच्छ।
  • खाना खाएको समयमा पानी खाने हो भने खाना राम्रोसँग रूच्दैन। त्यसैले पानी पिउनु हुँदैन भनिएको हो। तर पिउनै नहुने त्यस्तो कुनै कारण छैन।
  • पानी पर्याप्त भयो भने मस्तिष्कका लागि पनि राम्रो हुन्छ। नभए मान्छे थकित हुने, काम गर्न जाँगर नहुने हुन्छ। रक्सी खानुभन्दा पहिला कम्तीमा आधा लिटर पानी खाँदा असर कम हुन्छ। भोलिपल्ट ह्याङ पनि कम हुन्छ।
  • एउटा मान्छेले बढीमा दैनिक ६ लिटरसम्म पानी पिउँदा शरीरलाई हानि गर्दैन। तर हामीले खाने खाना, फलफुलहरुमा पनि पानीको मात्रा हुने गर्दछ ।
  • खुट्टा सुन्निने समस्या भएकाले, दम, मुटुका रोगीले भने धेरै पानी पिउनु हुँदैन। चिकित्सकको सल्लाह लिनुपर्छ। मिर्गौला र मधुमेहका बिरामीले पनि डाक्टरको सल्लाह बमोजिम खानुपर्छ। त्यस्तै पखाला लागेको बेलामा शरीरले आवश्यक ठाने जति पानी पिउनुपर्छ।

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस