बुधवार पूँजी बजारको लागि महत्त्वपूर्ण दिन हो। किनकि आजैबाट वास्तविक कम्पनीले विश्वले सबैभन्दा बढी रुचाइएको प्राथमिक निष्कासन विधिबाट निष्कासन प्रारम्भ गर्यो।
आउने दिनमा पूँजी बजार सम्बन्धी कुनै क्विज प्रतियोगितामा सबैभन्दा पहिले बुक बिल्डिङबाट शेयर निष्काशन गर्ने कम्पनी कुन भनी सोधिएमा सर्वोत्तम सिमेन्टको नाम सबैभन्दा पहिले आउने छ। सर्वोत्तमले पहिलो स्थान हासिल गर्न जति सङ्घर्ष गर्यो त्यो अब आउने कम्पनीले गर्नु पर्ने छैन। उसैले कोरेको बाटो भएर अन्य वास्तविक कम्पनीहरू बजारमा आउने छन्। वास्तविक रुपमा बजारमा आफ्नो छुट्टै अस्तित्व बनाएका कम्पनीले मात्रै यो विधिमा जान मन पराउँछन्। जुन कम्पनीलाई आफ्नो स्ट्रेन्थ माथि पूर्ण विश्वास हुन्छ तिनै कम्पनी मात्रै यो विधि अपनाएर बजारमा उत्रिन सक्छन् ।
प्राथमिक शेयर निष्कासन गर्ने समयमा नियामक निकायलाई एउटा विवरण दिने र निष्कासन पछि अर्कै विवरण आउने प्रवृत्ति नेपालमा नौलो मानिँदैन। प्रमाणका लागि पछिल्लो पटक शेयर निष्कासन गरेकै केही कम्पनीहरूको विवरण हेरे पुग्छ। तर यसमा नियामक निकायलाई छलछाम गर्ने कम्पनीले निष्कासन नै गर्न सक्दैनन्। किनकि यहाँ शेयरको मूल्य कुनै एक अडिटर वा कुनै एक कम्पनीको चार्टर्ड एकाउन्टेन्टले देखाएको हिसाबले मात्रै निष्कासन गर्न सकिँदैन।
यो विधिमा शेयरको मूल्य तोक्ने योग्य संस्थागत लगानीकर्ताले नै ४० प्रतिशत शेयर किन्नु पर्छ। अनि मात्रै पब्लिकमा शेयर निष्कासन गरिन्छ। जसले गर्दा यहाँ सयौँ सङ्ख्यामा दर्ता भएका सय भन्दा बढी चार्टर्ड एकाउन्टेन्टले मूल्य निर्धारणमा सहभागिता जनाउँछन्। यो विधिलाई विश्वले सबैभन्दा राम्रो विधि मानेको हो।
हुन त नेपालमा यो विधि ल्याउनै नहुने तर्क राख्नेको पनि कमी छैन। विश्व बजार बुझेर पनि नबुझेको जस्तो गर्ने मानिसले नै यसको विरोध गर्दै आएका हुन्। जसलाई समयले पचाउँदै लैजाने छ। यस अघि शेयर बजारको लागि अनलाइन प्रणालीको विरोध गर्ने पनि यही मुलुकमा थिए। जसलाई समयले पचाएर लग्यो। त्यसैगरि यो विधिलाई पनि समयले परिपक्व बनाउँदै लैजाने छ।
आजबाट निष्कासन प्रारम्भ भएको कम्पनीको शेयरमा पहिलो दिन कुनै आवेदन नपरेको नेपाल स्टक एक्सचेन्जको सूचीकरण विभागले जनाएको छ। योग्य संस्थागत लगानीकर्ताको आवेदन सूचीकरण विभागले नै स्वीकार्दै आएको छ। सुरुवाती दिनमा आवेदन नपरे पनि अन्तिम दिनसम्म सबै शेयर बिक्री हुने कम्पनीको अनुमान छ।
कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर बुक बिल्डिङ प्रक्रियामार्फत निष्कासन गर्न अनुमति पाएको थियो। सोमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता शेयरका लागि ४०१ रुपैयाँ देखि ६०१ रुपैयाँ कायम गरिएको छ। शेयरमा मंसिर १० गतेसम्म बोलकबोल पेस गर्न सकिनेछ। गत असार मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ १९ पैसा छ भने प्रतिसेयर आम्दानी ५ रुपैयाँ १३ पैसा छ । सो अवधिसम्म कम्पनीको जगेडा कोष ३ अर्ब ४५ करोड रुपैयाँ बराबर छ ।