२०८२ माघ ८ गते मङ्गलवार

सिद्ध कुमाख गाउँपालिकाभित्रका २ सामुदायिक विद्यालयका ३६८ जना विद्यार्थीहरुलाई न्यानो स्वीटर वितरणः

सल्यानको सिद्ध कुमाख गाउँपालिका भित्रका दुई सामुदायिक विद्यालयमा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत न्यानो स्वीटर वितरण गरेको छ। गाउँपालिकाको सहजिकरणमा सम्पन्न कार्यक्रममा सिद्ध कुमाख गाउँपालिका–२ कुइयाँझोलस्थित श्री देउराली माध्यमिक विद्यालयका १२५ जना तथा सिद्ध कुमाख गाउँपालिका–३ ढोरचौरस्थित श्री निराजन माध्यमिक विद्यालयका २४३ जना विद्यार्थीलाई स्वीटर वितरण गरिएको हो। यससँगै कुल ३६८ जना विद्यार्थी लाभान्वित भएका छन्।

गाउँपालिका अध्यक्ष भरत गिरीको प्रमुख आतिथ्यतामा सुरु भएको स्वीटर वितरण कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका लुम्बिनी प्रदेश उपप्रमुख मोहनलाल कवर लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश उपप्रमुख कवरले आगामी दिनमा पनि गाउँपालिकासँग सहकार्य गर्दै विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्न कम्पनी प्रतिबद्ध रहेको बताउनुभयो। त्यस्तै, गाउँपालिका अध्यक्ष गिरीले विगत आर्थिक वर्षहरूमा झैं चालु आर्थिक वर्षमा पनि गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी शैक्षिक सामग्री वितरण कार्यक्रम सञ्चालन गरिने र उक्त कार्यक्रम छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी दिनुभयो।

न्यानो कपडा वितरण कार्यक्रमले चिसो मौसममा विद्यार्थीलाई राहत मिलेको भन्दै विद्यालय प्रशासन, अभिभावक तथा स्थानीयवासीले खुसी व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२ पुष १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस