सल्यानमा पहिलोपटक नगरबस सञ्चालनमा आएको छ । सदरमुकामस्थित शारदा नगरपालिकाले जिल्लामा पहिलोपटक नगरबस सञ्चालनमा ल्याएको हो । शुक्रबार श्रीनगर स्थित बसपार्कमा नगर प्रमुख प्रकाश भण्डारीले नगरबसको सेवा शुभारम्भ गरेका हुन् ।

नेपाली हिन्दुहरूको महान् पर्व बडादसैँमा पूजाआजा गर्न खैरावाङ भगवती मन्दिरसम्म पुग्न भक्तजनलाई लक्षित गरी शुक्रबारबाट श्रीनगरदेखि खैरावाङसम्म नगरबस सञ्चालन गरिएको शारदा नगरपालिकाका प्रवक्ता राजेश कुमार शर्माले बताए । मन्दिरसम्म पुग्ने भक्तजनको भिड र यातायातको सहजताका लागि श्रीनगर खैरावाङ नगरबस सञ्चालनमा आएको शर्माको भनाइ छ ।

दसैँपश्चात् श्रीनगरदेखि सदरमुकाम खलंगा नगरबस सञ्चालन गरिने नगर प्रमुख प्रकाश भण्डारीको भनाइ छ । नगरबस नियमित रूपमा चलाएर जनतालाई सेवा दिनु आफ्नो पहिलो कर्तव्य भएको उनको भनाइ छ । बडादसैँ अवधिभर न्यूनतम भाडादर रु. ५० मा श्रीनगरदेखि खैरावाङ मन्दिरसम्मको निर्धारण गरिएको छ । नगरवस शुभारम्भ सँगै श्रीनगरदेखि खैरबाङसम्म पुगेको थियो। अन्य गाडीमा रु १०० देखि २०० रुपैयाँसम्म तिरेकोमा रु ५० मै खैराबाङ जान पाउँदा भक्तजनहरुले खुशी व्यक्त गरेका छन ।

विगतमा नगरपालिकाको आन्तरिक राजस्वबाट बस खरिद गरी ग्रामीण र दुर्गम क्षेत्रका नागरिकलाई सेवा प्रदान गर्ने लक्ष्य राखिएको नगर प्रवक्ताको भनाइ छ ।






