२०८१ मङ्सिर १९ गते बुधवार

तिहारको अन्तिम दिन आज भाइटीका, १०:५१ बजे शुभ साइत

आज भाइटीका, तिहारको अन्तिम दिन । देश बिदेशमा रहेका नेपालीहरूले दिदीबहिनीले आफ्ना दाजुभाइको सुख, समृद्धि एवम् दीर्घायुको कामनाका साथ भाइटीका लगाउँदैछन् ।

भाइटीकाको साइत १० बजेर ५१ मिनेटमा उत्तम मानिएको छ । 

भाइटीका अगाडि दिदीबहिनीले धार्मिक विधिअनुसार मण्डप बनाई अष्ट चिरञ्जीवीको पूजाका साथ त्यसमा कहिल्यै नसुक्ने तेलको घेरा लगाउने चलन छ । साथै सप्तरंगी टीकासँगै आफ्ना दाजुभाइलाई नओइलाउने दुबो, मखमली र सयपत्री फूलको माला तथा सप्तरङ्गी टीका लगाइदिएर दीर्घायुको कामना गर्छन् । यसैगरी याे दिन दियो, कलश पुज्ने, यमराज बोलाउने गरिन्छ । विमिरो, ओखर फोरिन्छ । यमराज, हनुमान, विभिषण र परशुरामको पुजा गरिन्छ । 

दिदीबहिनीले आफ्ना दाजुभाइलाई मिठाइ, फलफूल, ओखर, कटुस र मसलाका साथै सेलरोटी दिने तथा दाजुभाइले आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार दिने चलन छ ।

दाजुभाइ नहुने दिदीबहिनी तथा दिदीबहिनी नहुने दाजुभाइले आज काठमाडौँको रानीपोखरीको बीचमा प्रताप मल्लले बनाएको भनिएको यमलेश्वर महादेव मन्दिर गई दर्शन गरी टीका लगाउँछन् ।

यो मन्दिर प्रत्येक वर्ष भाइटीकाको दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ ।

प्रकाशित मिति : २०८० कार्तिक २९ गते बुधवार
प्रतिक्रिया दिनुहोस