
यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गरिन्छ ।
नेपाल संवतको नयाँ वर्ष ११४४ आजबाट सुरु भएको छ । नेपाल संवतको नयाँ वर्षमा काठमाडौं उपत्यकाका साथै नेवार समुदायको बाहुल्य रहेको स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।
नेवार समुदायले तिहारको चौथो दिन आज न्हूँ दँया भिन्तुना (नयाँ वर्षको शुभकामना) जनाउँदै बिहान नेपाल संवत् र साँझ घरघरमा म्हपूजा पर्व मनाउँदैछन् ।
म्हपूजाको अर्थ हो शरीर पूजा । कार्तिक शुक्ल प्रतिपदाको राति नेवार समुदायले आ–आफ्नो शरीर पूजा गर्दै म्हपूजा पर्व मनाउने गर्दछन् । यस दिन अन्धकारको नाश गरी ज्ञानको ज्योति फैलियोस् भनेर आफ्नो आत्मालाई चिनेर सारा ब्रम्हाण्ड चिन्नका निम्ति म्हपूजा गरिन्छ ।