३ बैशाख, २०८० सल्यान ।
सल्यान खलंगा लुहापिङ खेलमैदानमा गत चैत्र २८ गतेदेखि संचालन भएको शारदा मेयर कप T-20 प्रतियोगिता आज सम्पन्न भएको छ । शारदा मेयर कप T-20 क्रिकेट प्रतियोगिताको उपाधि फाइनल खेलमा घरेलु टिम शारदालाई पछि पार्दै बागचौर विजेता बनेको हो ।प्रतियोगिताको विजेता टिम बागचौर नगरपालिकाले नगद रु १ लाख,ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तैे उपविजेता शारदा नगरपालिकाले नगद रु ५० हजार ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । टस जितेर ब्याटिङ रोजेको बागचौरले निर्धारित २० ओभरको खेलमा आफ्नो महत्वपूर्ण ८ विकेट गुमाएर ११८ रन बनाएको थियो । ११९ रनको सामान्य लक्ष्य पाएको शारदाले १५ ओभर ४ बलमा आफ्ना सवै महत्वपुर्ण विकेट गुमाएपछि १५ रनले पराजित भएको थियो । उसले जवाफि व्याटिङमा १०३ रनमात्रै जोड्न सफल भएको थियो ।
प्रतियोगिता सम्पन्न सँगै विभिन्न विधामा खेलाडीहरुलाइ पुरस्कृत गरिएको थियो जसमा प्रतियोगिताको बेष्ट ब्याट्समेन शारदाका आश्विन सिंह, बेष्ट बलर त्रिवेणीका टेकबहादुर डाँगी, इमरजिङ प्लेयर त्रिवेणीका सुमित भण्डारी, लिटल मास्टर छत्रेश्वरीका विमोचन थापा, वेष्ट फिल्डर बागचौरका हेमराज बस्नेत, विकेट किपर त्रिवेणीका मोहन खत्री र प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी शारदाका सुरज बुढाथोकी बनेका छन । उनीहरुलाई नगद र प्रमाणपत्र सहित पुरस्कृत गरिएको छ ।
उप प्रमुख सुस्मिता सापकोटाको अध्यक्षतामा भएको समापन तथा पुरस्कार वितरण कार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रिय कोषाध्यक्ष पदम बहादुर खड्काको प्रमुख आतिथ्यता रहेको थियो । विशिष्ट अतिथिको रुपमा बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतमको उपस्थिती रहेको थियो ।कार्यक्रममा शारदा र वागचौरका वडाअध्यक्षहरुका साथै खेलाडी, खेलप्रेमीहरुको उपस्थिती रहेको थियो । उक्त अवसरमा सल्यान जिल्ला महिला क्रिकेट टिमका सदस्यहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा क्रिकेट एशोसियसन अफ सल्यानका अध्यक्ष सविन हमाल, शारदाका प्रमुख निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबाल, बागचौर नगरपालिकाका प्रमुख जनकराज गौतम, नेपाल क्रिकेट संघका कोषाध्यक्ष पदम बहादुर खड्काको मन्तव्य रहेको थियो । शारदा नगरपालिकाको आयोजना र क्रिकेट एशोसियसन अफ सल्यानको प्राविधिक सहयोगमा प्रतियोगिता संचालन भएको हो ।
थपः क्रिकेट संघ सल्यानका अध्यक्ष सविन हमाल सँग गरिएको कुराकानी