२८ चैत्र, सल्यान । शारदा नगरपालिकाको आयोजनामा शारदा मेयरकप टि २० क्रिकेट प्रतियोगिता आज देखि सुरु भएको छ ।पूर्व गृह राज्य मन्त्री मा.देबेन्द्रराज कडेलको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको थियो ।उद्घाटन समारोहमा बोल्दै उहाँले खेलको प्रबद्र्धनका लागि शारदा नगरपालिकाले गरेको प्रयासकको प्रशंसा गर्दै प्रतियोगिता सफलताको शुभकामना दिनुभएको थियो । क्रिकेटको क्रेज देशमा बढिरहेको बेला नगरपालिकाले प्रतियोगिता आयोजना गरि त्यसलाई थप प्रोत्साहन गरेको उहाँले बताउनु भयो । त्यस्तै नगर प्रमुख प्रकाश भण्डारीले प्रतियोगिताले अन्तरपालिकालाई भावनात्मक रुपमा जोड्नुका साथै खेलाडीको क्षमता अभिबृद्धिमा समेत टेवा पुग्ने बताउनु भयो । उहाँले शारदा नगरपालिकाले लगतै पालिका स्तरिय मेयरकप भलिबल प्रतियोगिता संचालन गर्ने समेत जानकारी दिनु भयो ।खेलकुदको विकासको लागि हरेक माध्यमिक विद्यालय संचालन भएका विद्यालयहरुमा खेल शिक्षक राखिने र शारदा नगरपालिका ६ खत्रिपोखरीमा रंगशाला निर्माण गरिनेसमेत उहाँले बताउनुभयो । खेलमा हारजित स्वाभाविक भएको हुदाँ सवैले अनुशासित भएर आफ्नो उत्कृष्ठ खेल प्रदर्शन गर्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सम्भु प्रसाद रेग्मीले प्रतियोगिता सफलताको शुभकामना दिनु भयो ।नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नगरउपप्रमुख सुस्मिता सापकोटा, जिल्ला प्रहरी प्रमुख नविन कार्की, शसस्त्र प्रहरी बल नेपाल आश्रित गुल्मका प्रमुख सुशिल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान सल्यानका प्रमुख नेव बहादुर राना, वडा नम्बर २ का वडा अध्यक्ष तथा क्रिकेट एशोसियसन अफ सल्यानका अध्यक्ष सविन हमाल, वडा नम्बर ११ का वडा अध्यक्ष,राजेश कुमार शर्मा,शिक्षा समिति सदस्य बीर बहादुर सेजवाल लगायत नगरका कर्मचारी , खेलाडी, प्रशिक्षक, पत्रकार, सुरक्षाकर्मीको उपस्थिती रहेको थियो ।नगर उप प्रमुख सुस्मिता सापकोटाको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन समारोहको सहजीकरण नि.प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबालले गर्नुभएको थियो ।
जिल्लाका ८ पालिका सहभागी प्रतियोगिता २०८० बैशाख ३ गते सम्म संचालन हुनेछ । आठ स्थानीय तहहरुलाई दुई समूहमा विभाजन गरिएको छ । जसको समूह ए मा बनगाड कुपिण्डे नगरपालिका, बागचौर नगरपालिका, कपुरकोट र कालीमाटी गाउँपालिका रहेका छन् भने समूह वि मा सिद्ध कुमाख, छत्रेश्वरी, त्रिवेणी गाउँपालिका र शारदा नगरपालिका रहेका छन् ।
आज पहिलो दिन संचालन भएको पहिलो खेलमा बागचौर नगरपालिका र कपुरकोट गाउँपालिका भिडेका थिय जसमा बागचौर नगरपालिकाले ६८ रनले जित निकालेको थियो । बागचौरका लागि भुवन वलीले १० रन खर्चिएर ३ विकेट लिँदै प्लेयर अफ द म्याच घोषित भएका थिए
। त्यसैगरी दोस्रो खेल बनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकाको रहेको थियो जसमा बनगाड नगरपालिकाले दिएको १४६ रनको लक्ष्यलाइ पछ्याउदै गर्दा १६ ओभरमा खेल रोकिएको थियो । लो भिजिविलिटीका कारण रोकिएको दोस्रो इनिङको बाँकी ४ ओभरको खेल २९ गते बिहान ६ः३० बजे हुने आयोजकले जनाएको छ । प्रतियोगिताका विजेता र उपविजेताले क्रमश १ लाख र ५० हजार रुपैया प्राप्त गर्नेछन भने प्लेयर अफ म्याच, प्लेयर अफ द सिरिज, वेष्ट बलर, वेष्ट ब्याट्सम्यान, वेष्ट किपर लगायतका विधामा पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको लाइभ अपडेट मोवाइल एप्स Stumps बाट प्राप्त गर्न मिल्ने आयोजकले प्रवन्ध मिलाएको छ ।