२०८१ मङ्सिर १९ गते बुधवार

टी २० विश्वकप एसिया छनोट फाइनल: सुपर ओभरमा चुक्यो नेपाल, ओमान विजयी

टी-२० विश्वकप छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको रोमाञ्चक फाइनल खेलमा नेपाललाई ‘सुपर ओभर’ मा हराउँदै ओमानले उपाधि जितेको हो । 

फाइनलमा टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली ओमानले पनि निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ८४ रनमात्र बनाएपछि खेल ‘सुपर ओभर’ मा गएको थियो ।  त्यसपछि ‘सुपर ओभर’ मा पहिले ब्याटिङ गरेको ओमानले कुनै पनि विकेट नगुमाई २१ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने ‘सुपर ओभर’ मा एक विकेट गुमाएर १० रनमात्र बनाउन सक्यो । 

‘सुपर ओभर’ मा ओमानबाट बिलाल खान बलिङ गर्न आएका थिए । उनले पहिलो बलमै नेपालका कुशल भुर्तेललाई आउट गराए । दोस्रो बलमा बिलाल खानले कुनै रन दिएनन् । तेस्रो बलमा कुशल मल्लले एक रन बनाए । बिलाल खानको चौथो बलमा गुल्सन झाले एक रन लिए । पाँचौँ बलमा कुशल मल्लले चार रन बनाएका थिए । अन्तिम बलमा पनि कुशल मल्लले चौका प्रहार गरेका थिए । त्यसअघि नेपालले ‘सुपर ओभर’ मा बलिङ गर्ने जिम्मा अविनोष बोहरालाई लिएको थियो । त्यही निणर्य नै नेपाली टोलीको हारको कारण बन्न पुग्यो । अविनाषमा अनुभवको कमी देखियो । तनावपूर्ण अवस्थामा बलिङ गर्न आएका उनले अधिकांश बल ‘फुल टस’ फालेका थिए । त्यसमाथि उनले एउटा ‘वाइड बल’ पनि फालेका थिए ।  अविनोषको पहिलो बलमा ओमानका ब्याट्सम्यान अकिब इलियसले एक रन लिए । दोस्रो बलमा नसिम खुसीले छक्का प्रहार गरे । तेस्रो बलमा नसिम खुसीले रन लिन सकेनन् । चौथो बलमा नसिम खुसीले फेरि छक्का प्रहार गरे ।पाँचौँ बल अविनाषले ‘वाइड’ फालेका थिए । त्यसलगत्तै अर्को बलमा नसिम खुसीले पुनः छक्का प्रहार गरेका थिए । अविनाषको अन्तिम बलमा नसिम खुसीले एक रन लिएका थिए । अविनोषले ‘सुपर ओभर’ मा २१ रन खर्चिएका थिए ।

प्रकाशित मिति : २०८० कार्तिक १९ गते आइतवार
प्रतिक्रिया दिनुहोस