
सिद्ध कुमाख गाउँपालकिाले सामाजिक सुरक्षा भत्ता भुक्तानीको कार्यलाई वडाबाट सुरुवात गरेको छ । लक्ष्मी सनराइज बैंक ढोरचौर शाखाबाट भुक्तानी हुदै आएको सामाजिक सुरक्षा भत्ता गाउँपालिकाका वडा तथा वस्तीहरु भौगोलिक हिसावले विकट र टाढा भएको हुदाँ साथै यातायातको सुविधा समेत नियमित नभएको हुदाँ घण्टौ हिडेर वैकमा लाइन वस्नुपर्ने समस्या रहेको थियो ।
सामाजिक सुरक्षा भत्तालाई पारदर्शी, सरल र सहज बनाउनको लागि लक्ष्मी सनराइज वैकसँगको सहकार्यमा आव २०८०/८१ को पहिलो त्रैमासिक भत्ता देखि नै वडा कार्यालयबाट वितरण गर्ने निर्णय भएको थियो । सोही बमोजिम पहिलो चरणमा जेष्ठ नागरिक, अपांङ्ग (क र ख वर्ग), एकल तथा विधुवा वर्गका लाभग्राहीको मात्र वडा कार्यालयबाट सामाजिक सुरक्षा वितरण गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
प्रत्येक वडामा १ दिनको घुम्ति शिविर राखि वडा नं १, २, ४ र ५ मा शिविरबाट भत्ता वितरण गर्ने र वडा नं ३ लाई लक्ष्मी सनराइज बैंक नजिक पर्ने भएको हुदाँ बैंकबाट नै भुक्तानी दिइने जनाएको छ ।
शिविरको पहिलो दिन आज कार्तिक १४ गते सिद्ध कुमाख गाउँपालिका वडा नं ५ को वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । जेष्ठ नागरिक ससिराम बोहरालाई पहिलो पटक भत्ता प्रदान गर्दै अध्यक्ष भरत गिरीले अव प्रत्येक त्रैमासिक रुपमा सामाजिक सुरक्षा भत्ता वडाबाट नै वितरण हुने प्रतिवद्धता जाहेर गरेका हुन ।

त्यसैगरी क्रमश उपाध्यक्ष राम बहादुर वस्नेतले जेष्ठ नागरिक भूमि बोहरा, वडाध्यक्ष चुडामणी रेउलेले जेष्ठनागरिक सरी रेउले र लक्ष्मी सनराइज वैकका प्रबन्धक रोहित चन्दले लिलु खड्कालाई पहिलो पटक सामाजिक सुरक्षा भत्ता प्रदान गरेका हुन । यस वडा बाट सामाजिक सुरक्षा प्राप्त गर्ने लक्षित वर्ग अन्तर्गत १७५ जना रहेकोमा १२९ जना लाभग्राहीले वडा कार्यालयबाट सेवा लिएका छन । वडा कार्यालयबाट सेवा पाउदा सेवाग्राहीहरुले खुशि साटेका छन । घण्टौ समय हिडेर बैंक आउदा र पालो कुर्दा २ दिनसम्म ढोरचौर वस्नु पर्ने समस्या रहेकोमा अव सास्ती भोग्नु नपर्ने भन्दै खुशि भएका हुन ।



वडा नं ५ को शिविरबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता वितरण १५ गते वडा नं ४, वडा नं २ वाट १६ गते र वडा नं १ वाट १९ गते आइतवार विहान १० वजेदेखि ३:३० वजेसम्म हुने गाउँपालिकाले सुचना जारी गरेको छ ।
